१५ असार २०८३, सोमबार

उपचारको खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेका सदाको सम्पूर्ण खर्च अरुण चौधरीले तिरिदिए

चौधरीलाई धन्यवाद दिँदै डिस्चार्ज भए शिव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । उपचार गरेको खर्च तिर्न नसक्दा अस्पतालमै बन्दक बनेका युवकको सम्पूर्ण उपचार खर्च सिजी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले तिरिदिएका छन् ।

सिन्धुलीका १९ वर्षीय शिव सदा उपचार खर्च तिर्न नसक्दा विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा बन्धक बनेका थिए । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएसँगै चौधरीले १ लाख रुपैयाँ तिरेर सदालाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका सदाले गत २७ चैतमा विष सेवन गरेका थिए । उनलाई आमा मघिया सदा र श्रीमती कृतिकाले उपचारका लागि सुरुमा कटारी र त्यसपछि विराटनगरको कोशी अस्पताल ल्याएका थिए । कोशीमा उपचार सम्भव नभएपछि उनलाई २८ चैतमा विराटनगरकै विराट निदान अस्पताल भर्ना गरियो । गम्भीर अवस्थामा रहेका शिवलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारका क्रममा अस्पतालको बिल ६२ हजार ६०० र औषधिको ७६ हजार ५८६ गरी जम्मा १ लाख ३९ हजार १८६ रुपैयाँ पुगेको थियो । तर विपन्न परिवारका सदाले ऋण खोजेर जम्मा १५ हजार रुपैयाँ मात्र बुझाउन सके । बाँकी १ लाख २४ हजार १८६ रुपैयाँ तिर्न नसकेपछि शिवकी आमा मघिया सदा बाटो खर्चको अभावमा विराटनगरबाट पैसा खोज्न पैदल सिन्धुलीतर्फ लागेकी थिइन् । तर उनी सम्पर्कमा नआएपछि शिव अस्पतालमै बन्दक बनेका थिए ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएलगत्तै चौधरीले तत्कालै सहयोग गरेर उनलाई अस्पतालबाट निकालेका हुन् । चौधरीको सहयोगपछि अस्पतालले पनि २४ हजार १८६ रुपैयाँ छुट दिएको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने बेला घर जाने भाडासमेत नभएका शिवलाई अस्पताल सञ्चालक अजय यादवले २ हजार रुपैयाँ बाटो खर्च पनि दिएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि शिवले चौधरीलाई धन्यवाद दिएका छन् ।