३० असार २०८३, मंगलबार

उदयपुरमा पर्यटन प्रवर्द्धनका नाममा राज्यको लाखौं खर्च, परिणाम शून्यजस्तै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । उदयपुरमा पछिल्लो समय पर्यटन प्रवर्द्धनको नाममा आयोजना भइरहेका मेला–महोत्सवहरू वास्तवमै पर्यटन विकासका लागि प्रभावकारी छन् कि राज्यकोषको खर्च गर्ने सजिलो माध्यम मात्र बनेका छन् भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ । लाखौं रुपैयाँ सरकारी बजेट खर्च गरेर आयोजना गरिने यस्ता कार्यक्रमहरू केही दिनको भीड, सांगीतिक प्रस्तुति र औपचारिक उद्घाटनमै सीमित हुने गरेका छन्, तर दीर्घकालीन पर्यटन प्रवर्द्धनको क्षेत्रमा भने ठोस उपलब्धि देखिँदैन ।

जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी पछिल्लो समय लगातार मेला–महोत्सव आयोजना भइरहेका छन् । तर ती कार्यक्रमहरू रणनीतिक पर्यटन विकासको आधार बन्न नसकी केवल ‘कार्यक्रम सम्पन्न गरियो’ भन्ने औपचारिकता पूरा गर्ने माध्यमजस्तै देखिन थालेका छन् ।

यसै सन्दर्भमा रौतामाई गाउँपालिका–६ स्थित जिल्लाकै प्रमुख धार्मिक तीर्थस्थल रौता पोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ गत चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, परम्परागत खाना परिकारको प्रदर्शनी तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समावेश गरिएको थियो । तर महोत्सव सकिएपछि त्यहाँको पर्यटन पूर्वाधार, पहुँचमार्ग, प्रचारप्रसार वा दीर्घकालीन व्यवस्थापनमा कुनै उल्लेखनीय सुधार हुने संकेत भने देखिँदैन ।

महोत्सवका लागि त्रियुगा नगरपालिकाले ७ लाख, रौतामाई गाउँपालिकाले ५ लाख र कोशी प्रदेश सरकारले ३ लाख रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ । करिब १५ लाख रुपैयाँ बराबरको सार्वजनिक लगानी भएको कार्यक्रममा खर्च त भयो, तर त्यसको प्रतिफल के आयो भन्ने प्रश्नको स्पष्ट जवाफ भने कसैसँग छैन ।

त्यसैगरी, बेलका नगरपालिका–३ स्थित ऐतिहासिक बेलका राजारानी दरबारको भग्नावशेष क्षेत्र बेलकातरीको सुनखानीमा ‘प्रथम बेलका पर्यटन महोत्सव’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म आयोजना गरिएको छ । महोत्सवमा बेलका नगरपालिकाले ५० हजारदेखि १ लाख रुपैयाँसम्म सहयोग गर्ने, उदयपुर विकास बोर्डले ३.५ लाख रुपैयाँ सहयोग गर्ने तथा स्थानीय होटल व्यवसायी र अन्य उद्योगी–व्यवसायीको समेत आर्थिक सहभागिता रहनेगरी करिब १० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका सचिव टंक फुयालले जानकारी दिएका छन् । तर प्रश्न यहाँ उठ्छ– के यस्ता कार्यक्रमहरूले वास्तवमै पर्यटक भित्र्याउने वातावरण बनाएका छन् ?

वास्तविकता के हो भने जिल्लाका अधिकांश पर्यटकीय गन्तव्यहरूमा अझै पनि आधारभूत पूर्वाधारको अभाव छ । सडकको अवस्था कमजोर छ, खानेपानी, शौचालय, बसोबासको सुविधा, सूचना केन्द्र, मार्गनिर्देशन बोर्ड, डिजिटल प्रचारप्रसार जस्ता आधारभूत कुराहरू समेत व्यवस्थित छैनन् । यस्ता आधारभूत संरचना निर्माण नगरी केवल मेला–महोत्सव आयोजना गरेर पर्यटन प्रवर्द्धन हुने अपेक्षा गर्नु आफैमा अव्यवहारिक देखिन्छ ।

स्थानीय बासिन्दा तथा व्यवसायीहरूको अनुभव पनि त्यस्तै छ । महोत्सवका केही दिन सीमित व्यापार वृद्धि भए पनि त्यसपछि अवस्था फेरि उस्तै हुने गरेको उनीहरू बताउँछन् । दीर्घकालीन योजना, निरन्तर प्रचारप्रसार, पूर्वाधार विकास र निजी क्षेत्रको सहभागिता सुनिश्चित नगरी आयोजना गरिने यस्ता कार्यक्रमहरूले पर्यटन क्षेत्रमा स्थायी प्रभाव पार्न नसक्ने स्पष्ट देखिन्छ ।

जिल्लाका आठै स्थानीय तहमा धार्मिक, ऐतिहासिक तथा प्राकृतिक रूपमा आकर्षक पर्यटकीय स्थल प्रशस्त छन् । तर ती स्थानहरूको समग्र विकासका लागि तीनै तहका सरकारबीच समन्वयको अभाव देखिन्छ । दीर्घकालीन पर्यटन गुरुयोजना निर्माण नगरी वर्षेनी कार्यक्रमकै नाममा बजेट खर्च गर्ने प्रवृत्तिले पर्यटन प्रवर्द्धनभन्दा बढी राज्यकोषको अपव्यय भएको आरोप बलियो बन्दै गएको छ ।

पर्यटन प्रवर्द्धनका नाममा हुने कार्यक्रमहरू केवल सांस्कृतिक प्रस्तुति र मनोरञ्जनमा सीमित हुने होइनन् ती कार्यक्रमले पर्यटकलाई पुनः आकर्षित गर्ने स्थायी संरचना, सेवा सुविधा र व्यवस्थापन प्रणाली निर्माणतर्फ उन्मुख हुनुपर्छ । अन्यथा, ‘महोत्सव उद्घाटन र सम्पन्न’ भन्ने समाचारबाहेक उपलब्धि देखाउन नसकिने अवस्था दोहोरिरहने निश्चित छ । त्यसैले अब समय आएको छ, महोत्सव केन्द्रित खर्चभन्दा पूर्वाधार केन्द्रित लगानी, रणनीतिक योजना र दीर्घकालीन पर्यटन व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने । होइन भने पर्यटन प्रवर्द्धनको नाममा खर्च भइरहेको राज्यकोषको लाखौं रकम परिणामविहीन कार्यक्रममै सीमित हुने खतरा अझ बढ्दै जानेछ ।