काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ । सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको छ ।
बैठकमा विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्ति, अभिव्यक्ति स्वतन्त्रता र त्यसको संरक्षणका विषयमा गम्भीर छलफल भइरहेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै विधिको शासनलाई सुदृढ गर्ने सन्दर्भमा आफ्नो धारणा स्पष्ट बनाउने प्रयास गरिरहेको छ ।
प्रवक्ता चालिसेले भने, ‘आजको महत्वपूर्ण एजेन्डा अभिव्यक्तिको स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिबारे हो । पार्टीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने सन्दर्भमा व्यापक छलफल गरिरहेको छ ।’
बैठकमा पार्टीको संगठनात्मक संरचना विस्तार, नीति तथा अनुसन्धान प्रतिष्ठान गठन, प्रशिक्षण प्रतिष्ठानको प्रभावकारी सञ्चालन तथा निर्वाचन व्युरो गठनबारे पनि छलफल भइरहेको छ । पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीतिक तयारी र आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न संरचनागत सुधार अघि बढाउने तयारी गरेको छ ।
त्यसैगरी, निर्वाचन सम्बन्धी प्राविधिक विषयहरू समेटेर निर्वाचन व्युरो गठन गर्ने विषयमा पनि छलफल भएको छ । पार्टी स्रोतका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठनलाई चुस्त र प्रभावकारी बनाउने रणनीति बैठकको प्रमुख प्राथमिकतामा छ ।
सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका गतिविधि र कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधिहरूलाई परिमार्जन गर्दै एकरूपता ल्याउने विषयमा समेत नेताहरूले विचार–विमर्श गरिरहेका छन् ।
यस्तै, अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ । पार्टीको आन्तरिक संरचना र सदस्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषय पनि बैठकको एजेन्डामा समावेश गरिएको छ । यस अन्तर्गत केन्द्रिय तहदेखि तल्लो तहसम्म पार्टी संरचना सुदृढ गर्ने र जिम्मेवारी स्पष्ट गर्ने विषयमा निर्णय लिने तयारी भइरहेको जनाइएको छ ।
बैठक अझै जारी रहेको र विभिन्न निर्णयहरू क्रमशः सार्वजनिक गरिने पार्टीका प्रवक्ता चालिसेले बताए ।








प्रतिक्रिया