काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
आइतबार दिउँसोदेखि सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले १५ चैतमा गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको १६ चैतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो ।
रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ ।








प्रतिक्रिया