२ श्रावण २०८३, शनिबार

नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो ।

यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो । यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घट्दा फ्लोट इन्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.६६ अंकले ओरालो लागेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३४५ वटा कम्पनीका १ लाख ४१ हजार ३६ पटकका कारोबारबाट १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस दिन ३ करोड १२ लाख कित्ता शेयर कारोबार भएको हो ।

कारोबारका क्रममा ६ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए । सकारात्मक सर्किटमा कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिक रहेका छन् ।

यस्तै, ७ कम्पनीका शेयर नकारात्मक सर्किटमा पुगेका छन् । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका शेयरमा उच्च गिरावट देखिएको हो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यस्तै सिवम सिमेन्टको ४५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ ।

उपसमूहगत रूपमा हेर्दा आइतबार सबै १३ वटै उपसमूह ओरालो लागेका छन्। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ । जलविद्युत र विकास बैंक उपसमूह ४ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । समग्रमा बजारमा व्यापक बिक्री दबाब देखिँदा नेप्सेमा उच्च अंकको गिरावट आएको विश्लेषकहरू बताउँछन् ।