काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । शनिबार (चैत २१) काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभामा उनले सामाजिक सञ्जालमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकामा आपत्ति समेत जनाए ।
“म कुनै यो ग्रुपमा, त्यो गु्रपमा छैन । तपाईंहरू स्पष्ट हुनुप¥यो यो कुरामा,” उनले भने, “मानिसहरूले, साथीहरूले यही कोठामा, यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेखेको मैले देखेको छु ।”
उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने रहेको बताए । त्यसनिम्ति अन्तिमसम्म प्रयास गर्ने उनले उल्लेख गरे ।
कांग्रेसलाई एकढिक्का बनाएर आउँदो निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफनो इच्छा रहेको उनको भनाइ थियो ।
“नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु,” उनले भने, “त्यो तपाईंहरू ढुक्क हुनुहोस् ।”
उनले अगाडि भने, “मलाई जसले जति गाली गरे पनि हुन्छ, त्यसले मलाई केही पनि असर गदैन । किनभने, मेरो एउटै लक्ष्य छ– नेपाली कांग्रेसलाई एकढिक्का बनाएर फेरि हामीहरू पहिलो पार्टीको रूपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो ।”








प्रतिक्रिया