काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसेका तीन नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार काठमाडौं फकाइएको नेपाली दूतावासले जनाएको छ ।
उद्धार गरिएकाहरू विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको थियो ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
“कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,” दूतावासले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो समेत आएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्दार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।
“नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,” दूतावासले भनेको छ ।








प्रतिक्रिया