५ असार २०८३, शुक्रबार

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

स्थानीय तहहरूमा लामो समयदेखि निमित्तको भरमा प्रशासन सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ, जिम्मेवारीको अन्योल तथा सेवा प्रवाहमा कमजोरी देखिँदै आएको थियो । यही अवस्थालाई सुधार गर्न सरकारले ‘निमित्त अन्त्य’ अभियानलाई तीव्र बनाएको हो ।

मन्त्री प्रतिभा रावलले पदभार सम्हालेपछि स्थानीय तहको प्रशासनिक संरचना सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिएकी छन् । यसअघि नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाउने काम सुरु भइसकेको थियो भने अहिले सोही प्रक्रिया गाउँपालिकासम्म विस्तार गरिएको छ ।

मन्त्रालयका अनुसार अझै केही स्थानीय तहमा निमित्त प्रणाली कायम रहेकाले चरणबद्ध रूपमा सबै स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था बनाउने योजना अघि सारिएको छ । सरकारको विश्वास छ कि यस कदमले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र जवाफदेही बनाउनेछ । स्थायी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएपछि विकास निर्माणका काम, प्रशासनिक निर्णय र सेवा वितरणमा गति आउने अपेक्षा गरिएको छ ।

सरुवाका लागि एउटै निकायमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थानीय तहमा कार्य अनुभव नदेखिएका, घर ठेगाना मिल्ने तथा सेवा प्रवाह सुधारका लागि आवश्यक जनशक्ति व्यवस्थापनलाई आधार बनाइएको मन्त्रालयले जनाएको छ ।