५ श्रावण २०८३, मंगलबार

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन तिमिल्सिनाले गराए सरकारको ध्यानाकर्षण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको तीव्र अतिक्रमण र नेपाली भूमि रक्षाका लागि बाजुराका धर्मराज तिमिल्सीनाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई एक पत्र बुझाउँदै मिचिएको जमिन फिर्ता ल्याउन र सीमा सुरक्षा मजबुत बनाउन माग गरेका हुन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्रमा तिमिल्सिनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पारित भए पनि ती भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल नभएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले ‘नक्सा र अभिलेख बीचको एकरूपता’कायम गर्दै मिचिएको जमिन तत्काल फिर्ता ल्याउन माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा सुस्तादेखि कञ्चनपुरसम्म सीमा क्षेत्रमा मिचिएको तथ्यहरू प्रस्तुत गरिएको छ–

– सुस्ताः नारायणी नदीको धार परिवर्तनसँगै करिब १४,००० हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको छ ।

–कञ्चनपुरः नेपाली नागरिकहरू राति नेपालमा सुत्ने र बिहान उठ्दा भारतीय अतिक्रमणका कारण आफ्नै जमिनबाट लखेटिनुपर्ने अवस्था छ ।

–कपिलवस्तुः लालपुर्जा नेपालीको हातमा भए पनि जमिन भारतले कब्जा गरिसकेको गुनासो छ ।

तिमिल्सिनाले सरकारसमक्ष ७ बुँदे सुझाव पेस गर्दै दशगजा क्षेत्रमा भएका अवैध संरचना हटाउन, सीमामा सशस्त्र प्रहरी र सीसी क्यामरामार्फत निगरानी बढाउन र हराएका सीमा स्तम्भहरूको पुनःस्थापना गर्न माग गरेका छन् ।

‘नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु राज्यको प्रमुख दायित्व हो,’ भन्दै उनले यो समस्या समाधान नभए दीर्घकालीन रूपमा राष्ट्रिय हितमा गम्भीर असर पर्ने चेतावनी समेत दिएका छन् ।