–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईस्थित महिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित कृषि तथा तरकारी खेती व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । तालिममा २ पुरुष र ३२ महिला गरी कुल ३४ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित भएको संस्थाका मुख्य प्रवन्धक महेश बन्जाराले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा तरकारी उत्पादनको व्यावसायिक महत्व, खाद्य सुरक्षा र पोषण, आम्दानी वृद्धि गर्ने सम्भावना, जलवायु अनुकूल खेती प्रणाली, मौसम अनुसार बाली छनोट, माटो व्यवस्थापन, जैविक तथा रासायनिक मलको प्रयोग, बीउ उत्पादन र नर्सरी व्यवस्थापन, उन्नत खेती प्रविधि, टपक तथा स्प्रिंकलर सिँचाइ प्रणाली, बाली रोटेशन, आधुनिक कृषि उपकरणको प्रयोग, रोग तथा कीट नियन्त्रण, भण्डारण, प्याकेजिङ र ढुवानी लगायतका विषयमा व्यावहारिक तथा उपयोगी जानकारी प्रदान गरिएको थियो ।
तालिमपछि सहभागी सरिता चौधरीले तालिमले आफूलाई तरकारी खेतीतर्फ अझ व्यवस्थित र आत्मनिर्भर रूपमा अघि बढ्ने आत्मविश्वास दिएको बताइन् । उनले हाल २–२ कट्ठा क्षेत्रफलमा काँक्रा र टमाटर खेती गरिरहेको जानकारी दिँदै आगामी दिनमा उत्पादन विस्तार गर्ने योजना रहेको सुनाइन् ।
त्यस्तै, सहभागी पिताम्बर चौधरीले छोटो अवधिको भए पनि तालिम प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमलाई अझ लामो अवधि र व्यवहारिक अभ्याससहित सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । सहभागीहरूले कृषिमा सरकारी अनुदान वृद्धि तथा तरकारी खेतीका लागि प्लास्टिक टनेल निःशुल्क उपलब्ध गराउनुपर्ने माग समेत राखेका थिए ।
संस्थाका मुख्य प्रवन्धक बन्जाराका अनुसार सहकारीले नगर क्षेत्रभित्रका किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । सहकारीले हालसम्म गरेको कुल लगानीमध्ये ५२.६९ प्रतिशत रकम प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा लगानी गरिएको उनले जानकारी दिए ।
सहकारीले हालसम्म ३० करोड ४४ लाख २४ हजार ४५० रुपैयाँ कुल लगानी गरेकोमा १६ करोड ४ लाख ४९० रुपैयाँ कृषिमा मात्र लगानी गरेको छ । साथै, संस्थामा हाल २२ करोड ९४ लाख ९१ हजार ६४८ रुपैयाँ बचत संकलन भएको समेत जानकारी दिइएको छ ।
स्थानीय किसानको क्षमता अभिवृद्धि, उत्पादन विस्तार र आयआर्जन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता तालिमहरूले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया