काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
गुवाहाटीमा हुने यो खेल दुवै टोलीका लागि नयाँ सिजनको सुरुवात मात्र हुने छैन । गत सिजनको खराब प्रदर्शन बिर्सिने अवसर पनि हुनेछ ।
गत वर्षको आइपिएलमा दुवै टोली अंकतालिकाको पुछार रहेका थिए । त्यसपछि दुवैले टोलीमा ठूलो परिवर्तन गरेका छन् । राजस्थानले कप्तानको जिम्मेवारी रियान पराग लाई दिएको छ भने चेन्नईमा कप्तानी फेरि ऋतुराज गायकवाड ले सम्हाल्नेछन् ।
यस्तै, खेलाडी परिवर्तन पनि रोचक बनेको छ । सन्जु स्यामसन चेन्नईमा पुगेका छन् भने रविन्द्र जडेजा राजस्थानमा फर्किएका छन् ।
चेन्नईका अनुभवी खेलाडी महेन्द्र सिंह धोनी पिंडुलाको चोटका कारण सिजनको सुरुवाती दुई साता खेल्न नपाउने सम्भावना छ । त्यसैगरी दक्षिण अफ्रिकी ब्याटर डेवाल्ड ब्रेभिस पनि पहिलो खेल गुमाउने भएका छन् ।
राजस्थानले यसपटक टोली सन्तुलित बनाउने प्रयास गरेको छ । टोलीमा तेज गतिका बलर जोफ्रा आर्चर, नान्द्रे बर्गर र एडम मिल्ने छन् । स्पिन आक्रमणमा रवि बिश्नोई र जडेजा महत्वपूर्ण हुनेछन् ।
चेन्नईको बलिङ संयोजन भने अझै पूर्ण सन्तुलित देखिँदैन । विशेषगरी अन्तिम ओभरमा बलिङ कसले गर्ने भन्ने प्रश्न उठेको छ । स्पिनर नूर अहमद मध्य ओभरमा प्रभावकारी हुन सक्छन् भने तेज बलर म्याट हेनरी र खलिल अहमद पावरप्लेमै बढी प्रयोग हुने सम्भावना छ ।
राजस्थानका लागि जडेजा महत्वपूर्ण खेलाडी मानिएका छन् । उनले बलिङमा नियन्त्रण राख्ने र अन्तिमतिर तीव्र गतिमा रन बनाउने क्षमता राख्छन् । जडेजा अहिले टि ट्वान्टी क्रिकेटमा ४ हजार रन पूरा गर्न मात्र १५ रन टाढा छन् ।
चेन्नईका लागि युवा अलराउन्डर प्रशान्त वीर चर्चामा छन् । उनले पावरप्लेमा बलिङ गर्ने क्षमता राख्नुका साथै तल्लो क्रममा ठूलो सट खेल्न सक्छन् ।








प्रतिक्रिया