५ श्रावण २०८३, मंगलबार

इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय भएको सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट गायब

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्सका कक्षा बन्द गर्ने निर्णय गरेको २४ घण्टा पनि नबित्दै यससम्बन्धी विज्ञप्ति वेबसाइटबाट हटाइएको छ । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहका इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने भन्दै आइतबार निकालेको विज्ञप्ति २४ घण्टा पनि नबित्दै मन्त्रालयको वेबसाइटबाट हटाइएको हो ।

इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने भन्दै आइतबार मन्त्रालयले प्रकाशित गरेको विज्ञप्ति र शिक्षामन्त्री सस्मित पोखरेलले राखेको सूचना फरक–फरक थियो । मन्त्रालयले सबै प्रकारको इन्ट्रान्स परीक्षाका लागि कक्षा सञ्चालन गर्न नपाउने गरी सूचना प्रकाशन गरेको थियो । तर मन्त्री पोखरेलले भने कक्षा १२ सम्म मात्रै इन्ट्रान्स र ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको भन्दै अर्काे सूचना सार्वजनिक गरेका थिए ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘विद्यार्थीहरूको समग्र सिकाइ र विद्यालय शिक्षाको मर्यादालाई प्राथमिकता दिँदै कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू १ वैशाख २०८३ देखि बन्द गर्ने निर्णय गरिएको छ ।’

यता मन्त्रालयले भने विद्यालयका विभिन्न तह र उच्च शिक्षाका विभिन्न तहमा इन्ट्रान्स तयारी र ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरुरूले सञ्चालन गर्दै आएका कार्यक्रम १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने विषय विज्ञप्तिमा उल्लेख गरेको थियो ।