रुकुम । नेकपा एमाले रुकुम पश्चिमले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेको छ । पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै तत्काल रिहाइको माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाउँदै गैर कानुनी र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएका अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न एमाले रुकुम पश्चिमले माग गरेको छ । अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनी समेत दिएको छ ।
शक्ति र सत्ताको दुरुपयोग गर्दै समाजमा आतंक र द्वन्द्व सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने एमालेले बताएको छ । शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढ्नु नै आजको आवश्यकता हो । अन्यथा देश पुनः दीर्घकालीन द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा रहेकोतर्फ हामी सबैलाई सचेत गराउन चाहन्छौँ, प्रशासनमा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै एमाले रुकुम पश्चिमले यो प्रतिवेदन तत्काल खारेज गर्न र मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन माग गरेको छ ।
पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न, मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन, सम्पूर्ण घटनाको निष्पक्ष, स्वतन्त्र र व्यापक छानबिन गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ, ज्ञापन पत्रमा भनिएको छ ।
जबरजस्ती आन्दोलनमा उतार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउने तथा देशमा अस्थिरता सिर्जना गर्ने कार्यमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याइनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको भन्दै एमालेले घटनामा संलग्न सन्देहास्पद आर्थिक स्रोतहरूको समेत गहिरो अनुसन्धान हुन जरुरी रहेको बताएको छ ।








प्रतिक्रिया