काठमाडौं । नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय फिर्ता नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
संघले कार्की आयोगले जेन–जी घटनाको निष्पक्ष छानबिन नगरेको आरोप लगाउँदै उक्त प्रतिवेदन कार्यान्वयनका नाममा नेताहरूमाथि कारबाही गर्नु गलत भएको भन्दै निर्णय फिर्ता गर्न चेतावनी दिएको हो ।
‘भदौ २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य पत्ता लगाउने नाममा गठन गरिएको उक्त आयोगले प्रारम्भदेखि नै निष्पक्षता गुमाएको थियो भन्ने प्रतिवेदनमार्फत पूर्ण रूपमा पुष्टि भएको छ । आयोगका अध्यक्षले गठनपूर्व नै सार्वजनिक गरेका निष्कर्षलाई नै पुष्टि गर्ने गरी सीमित र पूर्वनिर्धारित ढाँचामा गरिएको छानबिनले आयोगको नियत र उद्देश्य दुवै प्रश्नको घेरामा परेका छ । यो प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधता दिने दस्तावेजका रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ’, संघका अध्यक्ष महाराज गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले अर्को समिति गठन गरेर घटनाको छानबिन गर्नुपर्ने माग राखेको छ । अन्यथा प्रतिकारमा उत्रिने चेतावनी संघले दिएको छ ।
‘यदि सरकारले यो गलत मार्गबाट पछि नहटेमा, प्रतिशोधपूर्ण निर्णयविरुद्ध सशक्त प्रतिरोधका कार्यक्रम देशभर अघि बढाउन राष्ट्रिय युवा संघ नेपाल मातहत कमिटीलाई निर्देशित गर्दछ’, संघको विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयम्ले वहन गर्नुपर्नेछ भन्ने कुरा स्पष्ट गर्न चाहन्छौँ ।’









प्रतिक्रिया