भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२ औं राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनमा देशभरका महिला कानुन व्यवसायीहरूको सहभागिता हुने नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रामसुन्दर खाइतुले जानकारी दिए । उनका अनुसार सम्मेलनमा बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरू– वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै नेपाल बार एशोसिएशनका पूर्वपदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उनले आग्रह गरेका छन् । सम्मेलनले नेपालमा महिला अधिकार तथा महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता सम्बन्धमा घोषणापत्र पनि जारी हुने उनले जानकारी दिए ।
यस्तै, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बारका सचिव अनिश सुवालले जानकारी दिए । ६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको सुरु गरिने समेत उनले जानकारी दिए । प्रभात फेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उनले जानकारी दिए ।
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ । सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया