–अन्जनी कुमार अधिकारी
उदयपुर । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै उदयपुरमा खटिएका निर्वाचन प्रहरीहरूलाई सम्मानपूर्वक बिदाई गरिएको छ । निर्वाचन तथा मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी निर्वाचनमा खटिएका प्रहरीलाई बिदाई गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षा व्यवस्थापनका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्थायी निर्वाचन प्रहरीलाई एक कार्यक्रममार्फत धन्यवादसहित बिदाई गरिएको हो । जिल्ला मातहतका इलाका प्रहरी कार्यालयहरू तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वाटर गाईघाटले आ–आफ्ना क्षेत्रमा खटिएका निर्वाचन प्रहरीलाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर जिल्लामा नेपाल प्रहरीतर्फ १ हजार ४ सय ४६ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना गरी कुल १ हजार ६ सय २५ जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । उनीहरू गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि विशेष रूपमा छनोट भई जिल्लाका विभिन्न मतदान केन्द्र तथा मतगणना स्थलमा खटिएका थिए ।
करिब ४० दिनको छोटो अवधिका लागि भर्ना गरिएका ती निर्वाचन प्रहरीले मतदानदेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्वाचनको अवधिभर मतदान केन्द्रको सुरक्षा, मतपेटिकाको संरक्षण तथा मतगणना स्थलको सुरक्षामा उनीहरूले जिम्मेवारीपूर्वक काम गरेका थिए ।
निर्वाचन सम्पन्न भएसँगै उदयपुरमा कार्यरत निर्वाचन प्रहरीलाई खादा लगाएर सम्मानका साथ औपचारिक रूपमा बिदाई गरिएको प्रहरी उपरीक्षक चापागाईंले जानकारी दिए । उनले निर्वाचन सफल बनाउन सहयोग पुर्याएकोमा सबै निर्वाचन प्रहरीको योगदान प्रशंसनीय रहेको पनि बताए ।
निर्वाचनको संवेदनशील अवधिमा अनुशासन, जिम्मेवारी र सक्रियताका साथ काम गरेका निर्वाचन प्रहरीको योगदानले जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन महत्वपूर्ण सहयोग पुगेको जिल्लास्थित सुरक्षा निकायले जनाएको छ ।








प्रतिक्रिया