काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । एनआरएनएको १२ औं विश्व महाधिवेशन आगामी मार्च १४, १५ र १६ मा काठमाडौंमा हुँदैछ, जहाँबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ ।
मलेसिया र नेपालका सफल व्यवसायीका रूपमा परिचित न्यौपाने लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको हितका लागि सक्रिय रूपमा काम गर्दै आएका अभियन्ता हुन् । मलेसियामा बसेर पनि उनले नेपाल र नेपालीका हितसँग जोडिएका विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा उल्लेखनीय योगदान दिँदै आएका छन् ।
एनआरएन अभियानलाई केवल पदको प्रतिस्पर्धा नभई जिम्मेवारी र सेवा भावको माध्यमका रूपमा लिँदै आएका न्यौपानेले यसपटक पनि संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन् । प्रारम्भिक चरणमा अध्यक्ष पदको दौडमा रहने तयारीमा रहेका उनले संस्थाभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न अभियन्ताको आग्रहलाई सम्मान गरेर उपाध्यक्ष पदमै पुनः उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका न्यौपानेले ‘एक मन, एक संगठन’को अवधारणा अघि सारेका छन् । संस्थाभित्र देखिएका मतभेद र विभाजनलाई अन्त्य गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन् ।
प्रवासमा रहेका नेपाली श्रमिकहरूको हक–अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका न्यौपानेले यो अभियानलाई अझै शुद्ध, सशक्त र बृहत् बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कामको वातावरण सुनिश्चित गर्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ ।
त्यसैगरी, गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारको विषयलाई पनि उनले प्रमुख एजेन्डा बनाएका छन् । संविधानले व्यवस्था गरेको अधिकारको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग समन्वय गरी ठोस पहल गर्ने उनको प्रतिबद्धता छ ।
न्यौपानेका अनुसार एनआरएनए केवल प्रवासी नेपालीको संगठन मात्र नभई मातृभूमिसँगको सम्बन्धलाई सुदृढ बनाउने साझा सेतु पनि हो । यही भावनाका साथ प्रवासी नेपालीको अनुभव, सीप, पूँजी र नेटवर्कलाई नेपालसँग जोड्दै देशको समृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ आफू अभियानमा रहेको उनको भनाइ छ ।
लामो समयदेखि प्रवासमा रहेर सामाजिक, आर्थिक र संस्थागत क्षेत्रमा सक्रिय न्यौपानेले एनआरएनएलाई अझ विश्वासिलो, परिणाममुखी र एकताबद्ध संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया