२३ असार २०८३, मंगलबार

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ ।

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भने, “त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।” उनका अनुसार शुक्लाफाँटामा बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली खटिएको छ । त्यसैगरी आवश्यक परेको अवस्थामा हात्तीसमेत परिचालन गरिनेछ । “यहाँ ११ वटा क्याम्पमा छुट्याएर जनशक्ति परिचालन गरिएको छ, २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ,” वाग्लेले भने । “एक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ ।”

निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ । शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको अनुमान गरिएको छ ।

पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घनत्व बढी भएकाले यहाँ बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको संरक्षण अधिकृतहरुको भनाइ छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ ।