२४ असार २०८३, बुधबार

भन्सार छलेर ल्याएका अवैध सामान बरामद

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका छ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी एक लाख २४ हजार रुपैयाँ बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ ।

त्यसैगरी, शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँबराबरको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ । मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँ बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८।५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी १ एक लाख २२ हजार रुपैयाँ रहेको छ ।

यस्तै, रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँ बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी एक लाख ११ हजार ६०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट एक लाख ५० हजार रुपैयाँ बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।