१८ असार २०८३, बिहिबार

उदयपुर १ मा रास्वपाका गेलाल निर्वाचित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार ५ सय ९० मत प्राप्त गर्दै १८ हजार ९८४ मतको फराकिलो अग्रतासहित विजयी भएका हुन् ।

यस्तै, श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मतसहित दोस्रो स्थानमा रहे भने नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गरे ।

त्यसैगरी, नेपाली कांग्रेसका विदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गर्दा नेकपा (एमाले)का दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभासचन्द्र खड्काले ९४१ मत प्राप्त गरे । अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका गणेशकुमार राईले ५९७, उज्यालो नेपाल पार्टीका अर्जुन तामाङ ले ५६४, मंगोल नेशनल अर्गनाइजेसनका बद्रीविक्रम राईले १२०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अमृतबहादुर खत्रीले ११२, संयुक्त नागरिक पार्टीका सुरेश राईले १०१, नेपाली जनता दलका कुशेश्वर चौधरीले ८५, स्वतन्त्र उम्मेदवार देवराज रोकाले ८३, आम जनता पार्टीका मनोजकुमार पौडेलले ४९, नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्रीले ४८, राष्ट्रिय जनमोर्चाका लिलकुमार राईले ४४, नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्तकुमार राईले ४४ र नेपाल जनमुक्ति पार्टीका गोकर्ण राईले ३० मत प्राप्त गरे । यस क्षेत्रमा कुल ८० हजार ५९ मत खसेकोमध्ये ७३ हजार ९१६ मत सदर भएको छ भने ६ हजार १४३ मत बदर भएका छन् ।

क्षेत्र नं. १ मा पनि रास्वपाका उम्मेदवार विजयी भएसँगै उदयपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गरेको छ । यसअघि आज बिहान क्षेत्र नं. २ बाट रास्वपाका सूर्यबहादुर लामाले विजयी हासिल गरेका थिए ।

उदयपुर क्षेत्र नं १ मा २०६४ सालदेखि निरन्तर ४ संघीय निर्वाचनमा जित हासिल गरेको कांग्रेसको विरासत तोड्दै रास्वपाले जित हासिल गरेको हो ।