२ श्रावण २०८३, शनिबार

उदयपुर–२ मा रास्वपाका सूर्य तामाङ विजयी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कटारीले सार्वजनिक गरेको मतपरिणाम अनुसार तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ५४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत ल्याएका छन् ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका सुरेश कुमार राईले ५ हजार ८९७, श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार २३९, राष्ट्रिय परिवर्तन पार्टीका अशोक राईले ६०७, मंगोल नेशनल अर्गनाइजेशनका भक्तराज राईले ३८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपुबहादुर थापाले २२०, नेकपा (माओवादी)का दुर्गाबहादुर तामाङले १४३, जनता समाजवादी पार्टीका केशवबहादुर मगरले १०३, आम जनता पार्टीका रामबहादुर मगरले ५४, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकीले ४० तथा स्वतन्त्र उम्मेदवार मनोजकुमार राईले १० मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए ।

उदयपुर २ मा कुल मतदाता ९६ हजार १२२ रहेकोमा २१ हजार ६८२ महिला र २२ हजार ९५२ गरी कुल ४४ हजार ६३४ मत खसेको थियो ।