काठमाडौं । बागलुङ–२ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित एक मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ।
निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गरिएको अभिव्यक्ति र गतिविधिले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा असर पार्न सक्ने देखिएकाले उनलाई पदबाट हटाउने निर्णय गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयले औपचारिक पत्रमार्फत जिम्मेवारी खोसेको जानकारी गराउँदै गैरेलाई मतपत्र र अन्य मतदान सामग्री तत्काल सुरक्षा निकायलाई बुझाउन निर्देशन दिएको छ। सो जानकारी सम्बन्धित निकायहरूलाई पनि गराइएको छ।
उनको स्थानमा भुवनबहादुर कुँवरलाई नयाँ मतदान अधिकृतका रूपमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ।








प्रतिक्रिया