रसुवा । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मतदातालाई पैसा बाँड्न खोजेकोप्रति राष्ट्रिय युवा संघ नेपाल, रसुवाले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष फुर्पा दिन्डुप थोक्रा (सुरेश)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कांग्रेसका उम्मेदवार आचार्यले उत्तरगया गाउँपालिका–३ पहिरेगाउँका मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले ल्याएको रकम सोही वडाका सन्तबहादुर गुरुङको घरमा राखिएको भन्ने गम्भीर सूचना प्राप्त भएको दाबी गरिएको छ । सूचनापछि संघले घटनास्थल घेराबन्दी गरी प्रहरी प्रशासन, नेपाल आर्मी तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराए पनि हालसम्म आवश्यक प्रकिया नबढेको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको हो ।

संघले लोकतन्त्रको आधार जनताको स्वतन्त्र मताधिकार भएको उल्लेख गर्दै पैसाको बलमा मत प्रभावित पार्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ । मत किनबेच गर्ने तथा गराउने कार्य कानुनविरुद्ध मात्र नभई नैतिक रूपमा पनि घोर आपत्तिजनक रहेको संघको ठहर छ । यस्ता गतिविधिले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामा प्रत्यक्ष आघात पुग्ने चेतावनी समेत दिइएको छ ।
संघले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी तथा सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । साथै, संघले सम्पूर्ण मतदातालाई सचेत रहन, कुनै पनि प्रकारको प्रलोभनमा नपर्न र आफ्नो अमूल्य मत स्वविवेकका आधारमा प्रयोग गर्न अपिल गरेको छ ।
“लोकतन्त्र बलियो बनाउन पैसा होइन, नीति, कार्यक्रम र इमानदारी चाहिन्छ,” संघले भनेको छ । यदि कसैले पैसा वा अन्य प्रलोभन वितरण गरिरहेको देखिएमा प्रमाणसहित सम्बन्धित निकायमा जानकारी गराउन समेत संघले आग्रह गरेको छ ।








प्रतिक्रिया