रामेछाप । फागुन २१ गते गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सबै मतदान केन्द्रमा जाने कर्मचारी खटाइसकेको छ ।
जिल्लाका ९६ मतदानस्थलका २ सय ३० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरू खटाइसकिएको मुख्य निर्वाचन अधिकृत एवं रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए । नेपालका अनुसार २ सय ३० मतदान अधिकृतमध्ये ३७ जना महिला छन् । ती मतदानस्थलको नेतृत्व महिलाले गर्नेछन् । यस पटक निर्वाचनमा कुल १ हजार ३ सय ७४ कर्मचारी खटिएका छन् । ती ३७ मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी छन् । कर्मचारीहरू भोलिबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्ने नेपालले जानकारी दिए ।
जिल्लामा निर्वाचनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । थापाका अनुसार जिल्लाका ४१ मतदानस्थललाई अति संवेदनशील ३५ लाई संवेदनशील र २० मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखिएका छ । ती मतदानस्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना आवश्यकता अनुसार परिचालन गरिएको उनले जानकारी दिए ।
रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टका अनुसार संवेदनशीलताको आधारमा सुरक्षाको आवश्यक तयारी गरिएको छ । मतदानस्थलको आसपासमा प्रहरी युनिट पुगिसकेको र भोलिबाट प्रहरी मतदानस्थलमा पुगेर सुरक्षामा खट्ने उनले जानकारी दिए ।








प्रतिक्रिया