१५ असार २०८३, सोमबार

प्युठानमा आचारसंहिता उल्लंघन गर्दै प्रदेश सांसद् निमा गिरी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्यार अलि खान

प्युठान । निर्वाचन आचारसंहिता २०८२ ले संघीय तथा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई आफ्नो पद, प्रभाव वा सरकारी स्रोतसाधन प्रयोग गरी कुनै उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसार गर्न स्पष्ट रूपमा रोक लगाएको छ । आचारसंहिता अनुसार उनीहरूले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ । तर प्युठानमा प्रदेश सांसद् निमा गिरीले आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ ।

उनी हाल प्युठानका विभिन्न गाउँमा पुगेर नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा. गोविन्दराज पोख्रेलको पक्षमा खुला रूपमा मत माग्दै हिँडिरहेको स्थानीयको दाबी छ ।

स्थानीयका अनुसार गिरीले महिलाहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको नाममा भेला गराई कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गरेकी छन् । तर यस विषयमा जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन ।

यसअघि पनि निर्वाचन आचारसंहिताको ठाडै उल्लंघन भएको भन्दै एमाले उम्मेदवार सूर्य थापाले असन्तुष्टि जनाउँदै आएका छन् । तत्काल यस्ता घटना नरोकिए एमाले प्युठान टुलुटुलु हेरेर नबस्ने थापाले चेतावनी समेत दिएका छन् ।

प्रदेशमन्त्री रोज राणा आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न प्युठान आएका थिए । उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय प्युठानले मन्त्री राणालाई सचेत समेत गराएको थियो ।

आचारसंहिता कार्यान्वयनको जिम्मेवारी सम्बन्धित निकायको भए पनि लगातार देखिएका यस्ता घटनाले निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको छ । पदको प्रभाव प्रयोग गरी खुला रूपमा मत माग्नु नागरिकप्रति बेइमानी भएको भन्दै मतदाताहरूले गुनासो गरेका छन् ।