१८ असार २०८३, बिहिबार

मौन अवधिमा मदिरा बिक्रीमा रोक लगाइने, होटल सञ्चालनमा समयसीमा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार बसेको सुरक्षा अधिकारी तथा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीहरूको संयुक्त बैठकले फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसमेतमा रोक लगाउने निर्णय गरेको हो ।

निर्वाचनसँगै नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्वलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि १८ गतेसम्म होटल व्यवसाय बेलुका ८ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस निर्णयले सम्भावित झै–झगडा तथा अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने प्रशासनको विश्वास छ ।

बैठकमा सहभागी व्यवसायीहरूले प्रशासनको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अनाधिकृत रूपमा सञ्चालनमा रहेका मदिरा पसलहरूमा अनुगमन तथा सर्च अभियान सञ्चालन गरिने र नियम उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन प्रशासनले विभिन्न सुरक्षा तथा निगरानीका उपायहरू अघि बढाएको जनाएको छ । यसअघि नै राजनीतिक दलहरूको उपस्थितिमा फागुन १५ गतेदेखि २२ गतेसम्म जिल्लामा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे विदेशी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत गरिसकिएको छ ।