४ कार्तिक २०८३, बुधबार

पत्रकार महासंघको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण आयोजना गरेको छ । महासंघले सातवटै प्रदेशमा यस प्रकारको अभिमुखीकरण आयोजना गर्दै छ ।

काठमाडौंबाट सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा. मीनाकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् मर्यादित बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताइन् ।

“स्वच्छ निर्वाचन र स्वतन्त्र प्रेस लोकतन्त्ररूपी एउटै सिक्काका दुई पाटा हुन् । स्वतन्त्र र जिम्मेवार प्रेस लोकतन्त्रको मेरुदण्ड हो । आचारसंहिता केवल कागजमा सीमित रहँदा त्यसको प्रभाव न्यून हुन्छस त्यसलाई जीवन्त बनाउने शक्ति सञ्चारमाध्यममा निहित छ,“ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ।

निर्वाचन अवधिमा सत्य, तथ्य र सन्तुलित प्रस्तुति झनै आवश्यक हुने उनको भनाइ छ । “समाचार छिटो दिनुपर्ने दबाब हुँदाहुँदै पनि सत्यता र विश्वसनीयता सर्वोपरि हुनुपर्छ । पुष्टि नभएका सूचना, हल्ला वा भ्रामक सामग्रीको प्रसारणले लोकतान्त्रिक प्रक्रियामा प्रतिकूल असर पार्न सक्छ,“ उनले भनिन् ।

महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल मिडियाको प्रभाव बढिरहेको परिप्रेक्ष्यमा अनलाइन मिडियामा कार्यरत पत्रकार तथा कन्टेन्ट क्रिएटरलगायतका पत्रकारहरूलाई लक्षित गरी अभिमुखीकरण आयोजना गरिएको बताइन् । उनले मिथ्या सूचना रोक्न र निर्वाचनलाई स्वच्छ एवम् स्वतन्त्र ढंगले सम्पन्न गर्न आफूले पनि आचारसंहिता पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउन भूमिका खेल्न आग्रह गरिन् । उनले यस्तो अभिमुखीकरण भोलिदेखि सातवटै प्रदेशमा हुने समेत जानकारी दिइन् ।

प्रशिक्षक उज्ज्वल आचार्यले निर्वाचनका बेला गरिने रिपोर्टिङ, पत्रकार तथा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी एवं पत्रकारले पालना गर्नुपर्ने आचरणका बारेमा प्रशिक्षण दिए ।