९ कार्तिक २०८३, सोमबार

जनपक्षीय काम मेरो पहिलो प्राथमिकता : घनश्याम पाण्डे

मतदाताले गरे ‘स्मार्ट छोरी’ कार्यक्रमको प्रशंसा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र ३ मा नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले जनताको हित हुनेगरी जनपक्षीय काम आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

आज एमाले तुलसीपुर–११ नम्बर वडा कमिटीको आयोजनामा भएका घरदैलो तथा कोणसभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताले विभिन्न समस्याहरु राखेको हुँदा समाधान गर्ने अठोट आफूमा रहेको बताए ।

आफू २०७४ मा मेयरमा निर्वाचित भई काम गरेको अनुभव रहेको हुँदा नीतिगत सवाल र विकासका सवालमा काम गर्ने प्रतिबद्धता जनाए । चुनावमा मतदाता सँगको आत्मियताले गर्दा आफू उत्साहित भएको उल्लेख गर्दै उनले सूर्यमा मतदान गरी विजयी बनाउन अपिल गरे । उनले हरेक उम्मेदवारलाई नजिकबाट चिनेर बुझेर मात्र मताधिकार प्रयोग गर्नुपर्ने भएकोले संकटको बेला एमाले जनताको साथ रहेको उनको भनाइ थियो ।

यस्तै, समानुपातिक उम्मेदवार कोमल ओलीले जेष्ठ नागरिक, महिला तथा पिछिडिएको समुदायको हक अधिकार र जिवन रक्षामा अग्रस्थानमा एमालेलाई जिताउन अपिल गरेकी थिइन् ।

उनले देशमा अराजक गतिविधि बढ्ने क्रममा रहेको हुँदा देशलाई सही दिशामा लैजाने पार्टी एमाले भएकोले जनलहर बढेको उनको भनाई थियो ।

यसैबीच, एमाले दाङ निर्वाचन क्षेत्र ३ अन्तर्गत आज पनि सबै वडाहरुमा घरदैलो तथा कोणसभाहरु भएका छन् ।

उम्मेदवार तथा नेता कार्यक्रर्ताको सहभागितामा जनताका बीचमा घरदैलो तथा सभाहरु भएको निर्वाचन परिचालन समितिका संयोजक श्याम डाँगीले जानकारी दिएका छन् ।

मतदाताले गरे ‘स्मार्ट छोरी’ कार्यक्रमको प्रशंसा

तुलसीपुर उपमहानगरपालिका–११ को उरहरी चोक बिहानीको चिसो मौसम र कुहिरोलाई चिर्दै उत्साहले तातिएको थियो । चिया चौतारी तथा उम्मेदवार भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागितासँगै एमालेका उम्मेदवार घनश्याम पाण्डेको रचनात्मक सोच र विगतका जनमुखी कार्यक्रमको चर्चा हुँदा वातावरण नै तालीको गडगडाहटले गुन्जायमान बनेको थियो ।

विशेष गरी महिलाहरुको उत्साहपूर्ण उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको देखिन्थ्यो ।

वडा अध्यक्ष मानबहादुर रावतले पाण्डेले अघि सारेको ‘स्मार्ट छोरी’ अवधारणाको चर्चा गर्दै भने, “गर्भमै छोरी देख्नेबित्तिकै भ्रुण हत्या गर्ने प्रवृतिको अन्त्य गर्ने उद्देश्यले ल्याइएको यो अभियान समाज परिवर्तनको दिशामा महत्वपूर्ण कदम हो ।” उनले पालिकाभित्र जन्मिएका गरिब तथा विपन्न वर्गका छोरीहरुलाई निःशुल्क शिक्षा, सहजताका लागि साइकल वितरण जस्ता कार्यक्रमले हजारौं परिवारमा आशा जगाएको उल्लेख गरे ।

कार्यक्रममा सहभागी स्थानीयले पनि पाण्डेले मेयर हुँदा ल्याएको छोरी जन्मिनेबित्तिकै २० वर्षसम्म मासिक दुई सय रुपैयाँ खातामा जम्मा गर्ने नीतिको खुलेर प्रशंसा गरे । उक्त नीतिले आर्थिक सहयोग मात्र नभई ‘विवाह २० वर्षपारि’ भन्ने सरकारी अभियानलाई समेत टेवा पुर्‍याएको र आमा तथा बच्चाको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारेको जनाइएको थियो ।

उम्मेदवार पाण्डेको सम्बोधन अघिपछिको भन्दा फरक र सन्देशमुखी देखिन्थ्यो । उनले भावुक शैलीमा मतदातासँग भने, “सबैभन्दा पहिला उम्मेदवारको अनुहार होइन, उहाँको आनीबानी, व्यवहार र काम गर्ने क्षमता हेर्नुहोस् । जसले काम गर्न सक्छ, त्यहीलाई गोप्य मतदानमार्फत जिताउनुहोस् । यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले सही निर्णय अत्यन्त महत्वपूर्ण छ ।”

चिसो मौसमका बाबजुद पाण्डेको विचार र योजनाले स्थानीयमा नयाँ ऊर्जा थपेको अनुभूति कार्यक्रमभर देखिन्थ्यो । स्थानीयबासीका अनुसार विकास, सामाजिक रूपान्तरण र छोरी सशक्तीकरण जस्ता विषयलाई प्राथमिकता दिने प्रतिबद्धताले पाण्डेप्रति भरोसा बढ्दै गएको छ । उरहरी चोकमा गुञ्जिएको तालीले यही संकेत दिएको सहभागीहरुको भनाइ थियो ।

त्यसैगरी, वडाको उरहरी, बेलटाकुरा, सुकौरा लगायत विभिन्न स्थानमा घरदैलो अभियान समेत सम्पन्न भएका छन् । समानुपातिक उम्मेदवार कोमल ओली र प्रत्यक्षतर्फका उम्मेदवार पाण्डेले जनताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् । स्थानीय जनताले उम्मेदवारसँग विभिन्न विकास निर्माणको मागहरु गरेका थिए ।