९ कार्तिक २०८३, सोमबार

‘समृद्ध नेपाल’को लक्ष्य एमालेबाट मात्र सम्भव छ : पूर्वमुख्यमन्त्री पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल’को लक्ष्य नेकपा (एमाले)बाट मात्र सम्भव भएको बताएका छन् । एमाले नेता समेत रहेका पौडेलले मुलुकको समृद्धि र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताएका हुन् ।

एमाले हेटौंडा उपमहानगरकालिका–५ नम्बर वडा कमिटीको आयोजनामा भएको निर्वाचन लक्षित घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्ष एमालेकै नीति र योजनाबाट मात्र पूरा हुने दाबी उनले गरे ।

एमाले जनताको सुख र समृद्धिको नेतृत्व गर्ने एक मात्र पार्टी भएको पौडेलले बताए । ‘हामीले अघि सारेका विकासका मोडलहरूले नै आज मुलुकलाई अघि बढाइरहेका छन्’ पौडेलले भने ‘जनताले एमालेलाई विकास र स्थिरताको पर्यायका रूपमा हेरेका छन् ।’

पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा एमाले एक निर्णायक शक्तिको रूपमा उभिएको बताए । उनले कार्यकर्ताहरूलाई पार्टीको नीति र एजेन्डाहरू लिएर टोलटोलमा पुग्न निर्देशन समेत दिए । उनले आगामी दिनमा एमालेलाई थप मजबुत बनाउन संगठन निर्माणमा जोड दिनु आवश्यक भएको बताए ।

नेता पौडेलले हेटौंडालाई आजको अवस्थामा ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको चर्चा गरे ।

हेटौंडामा भएका विकासका कामहरू एमालेको नेतृत्वमा सुरु भएका उनले दाबी गरे । सम्बोधनका क्रममा उनले राजनीतिक प्रतिपक्षीहरूप्रति लक्षित गर्दै एमालेको इतिहास र योगदानलाई कसैले मेटाउन नसक्ने बताए ।

“हेटौंडाको एउटा इँटा पनि एमालेको पसिना बिना ठडिएको छैन’ उनले भने । पौडेलले हेटौंडा–५ लाई एमालेको ‘गढ’का रूपमा चित्रण गर्दै यस वडाले सधैं पार्टीलाई साथ दिएको स्मरण गरे । आगामी निर्वाचनमा पनि यो वडाले निर्णायक भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको रक्षाका लागि एमालेको जित अनिवार्य रहेको बताए । एमाले जस्तो बलियो जनआधार भएको पार्टीले मात्र वैदेशिक र आन्तरिक दबाब झेल्न सक्ने दाबी गर्दै वक्ताहरुले भने, “रवि वा बालेन जस्ता पात्रहरूबाट देशको विकास र स्थिरता सम्भव छैन ।” उनीहरूले यस्ता पात्रहरूलाई अघि सार्नु देश समाप्त पार्ने षड्यन्त्र भएको समेत आरोप लगाए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका लामाले आफ्नो क्षेत्रमा भएका विकासका कामहरूको बारेमा समेत चर्चा गरेका थिए ।

हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसंग उठाउँदै वक्ताहरुले नेपाली कांग्रेस र माओवादीले यसलाई खारेज गर्न खोजेको आरोप लगाए । एमालेको पहलमा स्थापित यस प्रतिष्ठानले हाल ५० जनाभन्दा बढी डाक्टरहरू उत्पादन गरिरहेको र यसले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्‍याएको उनीहरूको भनाइ थियो ।

निर्वाचन परिचालन कमिटी प्रमुख सुधीर थापाले आगामी निर्वाचनको तयारी राम्रो रहेको बताए । पार्टी भित्रको एकता र उत्साहले हामीलाई नतिजा निकट पुर्‍याएको थापाले बताए । वडा ५ मा पार्टीको घरदैलो कार्यक्रम ९ गते रहेको थापाले जानकारी दिए ।

“माटोले चिनेको, भूगोलले मागेको उम्मेदवारको रुपमा रामेश्वर राना पाएका छौँ, हाम्रो गौरव हो ।” थापाले भने ।

कार्यक्रममा हेटौंडा–५ का अध्यक्ष सुशील घिमिरेले एमालेको नेतृत्वमा वडामा भौतिक तथा सामाजिक विकास तीव्र रुपमा भइरहेको रहेको बताए ।