१ असार २०८३, सोमबार

बागमती स्वास्थ्य मन्त्रालयद्वारा नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको छ ।

मंगलबार बच्चा जन्मिएपछि श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ वर्षीया आमा चुनमायासहित शिशुलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

शिशुको जन्म बिहान करिब ९ बजेर २० मिनेटमा भएको थियो । करिब ३,७०० ग्राम तौल भएका शिशु जन्मनासाथ नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएपछि अवस्था गम्भीर बनेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।

ग्रामीण अस्पतालमा तत्काल प्रारम्भिक उपचार गरिएको भए पनि आवश्यक विशेषज्ञ सेवा र उपकरणको अभावका कारण आपतकालीन उद्दार गरिएको निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले बताए ।

बुधबार दिउँसो १ बजेर २० मिनेटमा शिशुलाई हेलिकप्टरमार्फत कान्ति बाल अस्पताल, काठमाडौं पुर्‍याइएको जनाइएको छ ।

अस्पताल पुगेलगत्तै शिशुलाई नवजात सघन उपचार कक्ष (एनआइसीयू)मा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।