१५ असार २०८३, सोमबार

जनकपुरमा आज कांग्रेसको मधेश सभा, घोषणापत्र पनि सार्वजनिक गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्न लागेको छ । कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो ।

प्रतिज्ञा सभामा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।

यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’

प्रतिज्ञा सभामा मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए ।

जनकपुरबाट सार्वजनिक गरिने प्रतिज्ञा पत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ ।

आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।