प्युठान । प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले)का नेता सूर्य थापाले एमालेप्रति जनसमर्थन झनै बढिरहेको बताएका छन् ।
मंगलबार जिल्लाको स्याउलीबाङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमालेको जनलहरमा कुनै कमी नआएको उल्लेख गर्दै घरदैलोमा जनताको सहभागिता र माया निरन्तर बढिरहेको बताए ।
घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त स्वागत र समर्थनले आफ्नो जित सुनिश्चित देखिएको थापाले बताए । फरक राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा पार्टीले जित्नैपर्ने उनले बताए ।

फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप प्रचारप्रसार गर्दै स्याउलीबाङ आइपुगेको जानकारी दिँदै थापाले आज प्युठानको ३२ औं वडामा आइपुगेको बताए । भूगोलका हिसाबले आधा (५० प्रतिशत) प्युठानमा घरदैलो भेटघाट सम्पन्न भइसकेको र अबका १५ दिनभित्र बाँकी आधा क्षेत्रको अभियान सकाइने उनको भनाइ थियो ।
थापाका अनुसार माघ १७ गते सरुमारानी गाउँपालिकाको बड्डाँडाबाट सुरु भएको चुनावी भेटघाट माण्डवी, स्वर्गद्वारी, ऐरावती, मल्लरानी गाउँपालिका तथा सदरमुकाम खलंगा लगायत क्षेत्रमा सम्पन्न भइसकेको छ । पालिकागत रूपमा ५५ प्रतिशत भेटघाट सम्पन्न भएको उनले बताए ।

कार्यक्रममा सहभागीहरुले चुनाव, राष्ट्रिय राजनीति र प्युठानको विकासका लागि एमालेको जित अपरिहार्य रहेको धारणा राखेका थिए ।
जनभेटघाटका क्रममा नेता थापाले २१ गते हुने निर्वाचन, पार्टीका एजेन्डा, सरकारमा रहँदा गरेका काम र निर्वाचित भएपछि कार्यान्वयन गरिने योजनाबारे जानकारी गराइरहेका छन् । साथै, उनले प्युठानी जनताका माग र गुनासा सुन्दै त्यसको समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
















प्रतिक्रिया