हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आफ्नो उम्मेदवारीले मकवानपुरे जनता खुसी र एमालेलाई जिताउन उत्साहित रहेको पाइएको बताएका छन् ।
एमालेको तर्फबाट निर्वाचित वर्तमान र पूर्वजनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै रानाले जनभेटघाटका क्रममा आफ्नो उम्मेदवारीले जनता उत्साहित रहेको पाइएको बताएका हुन् । साथै, रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विको बाटोमा मुलुकलाई अगाडि बढाउन एमालेको जितको विकल्प नभएको पनि बताए । विचलित र अन्यौलमा नपरी निर्धक्क भएर निर्वाचनमा जुट्न रानाले आग्रह गरे ।
भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गतेको निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमान बीचको भएकोले राष्ट्रिय स्वाभिमान रक्षाको लागि एमालेलाई जिताउन सबै एकजुट हुनपर्ने बताए । अब बन्ने संसदले मुलुकलाई निकास दिन सकेन भने संविधान र लोकतन्त्र मात्र संकट पर्दैन राष्ट्रियता नै संकटमा पर्ने उनले बताए ।
एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले वैधानिक रूपमा नै निर्वाचन जितेर बहुमतसहित सरकार चलाउन पर्ने बताए । मकवानपुरमा एमालेको विगतको साखलाई कायम गर्दै निर्वाचनका गतिविधि तीव्र बनाउनुपर्नेमा उनले जोड दिए ।
एमाले केन्द्रीय लेखा आयोगको सदस्य तथा हेटौंडा उपमहनगरपालिका दलका नेता नवीन सिग्देलको अध्यक्षतामा भएको भेलामा पूर्वसांसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटीका सदस्यहरू फूर्वादोर्जे घिसिङ्ग, गणेशकुमारी श्रेष्ठ, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्की लगायतको उपस्थिति रहेको एमाले जिल्ला कमिटी उपसचिव फूर्वादोर्जे लामाले जानकारी दिए ।















प्रतिक्रिया