हेटौंडा । निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)ले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानामगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो ।
२०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे ।

२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल जिल्ला नेतृत्व सम्हालेका छन् । उनी बागमती प्रदेश कमिटी सदस्य हुँदै चार कार्यकाल पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेका नेता हुन् ।
एमालेको ११ औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
स्थानीय तहमा पनि उनको अनुभव उल्लेखनीय छ । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिका–११ का वडा अध्यक्ष निर्वाचित भएका राना २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापति समेत बने । त्यस कार्यकालमा उनले चुरे संरक्षण, सडक सञ्जाल विस्तार तथा मकवानपुरको एकीकृत विकासको अवधारणा अघि सारेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे पनि उनी पराजित भएका थिए । त्यसयता दुई पटक सिफारिसमा परे पनि नेतृत्वको अवसर नपाएका राना २०७९ सालको निर्वाचनमा एमालेबाट कमल थापालाई उम्मेदवार बनाइएपछि अन्तिम समयमा संसदीय चुनाव लड्ने अवसरबाट बञ्चित भएका थिए । पटक–पटक अवसर नपाए पनि पार्टी जिम्मेवारीमा निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ ।
इमान्दार, कर्मठ र सादगी नेताका रूपमा परिचित रानाले निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै यसपटक अन्य उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका युवा उम्मेदवार विजय गौतम, राप्रपाबाट पूर्वसांसद दीपकबहादुर सिंह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता प्रकाश गौतमसँग रानाको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
मकवानपुर–१ मा कुल २३ जनाको उम्मेदवारी परेको छ, जसमा १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।









प्रतिक्रिया