काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङबाट आफूले चुनाव जित्ने निश्चित रहेको बताएका छन् । आज प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गुरुङले आफू चुनाव जितेरै आउने बताएका हुन् ।
‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने, ‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्, ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।’ उनले आफूले जिते पनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको बताए ।
यसैगरी, उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए । साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए ।
गुरुङले भने, ‘पुराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइरहेको छ । त्यो गलत हो । पुराना पार्टीका सानातिना कमिकमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्था माथि आक्रमण भइरहेको छ ।’
यस्तै, उनले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको बताए ।
उपाध्यक्ष गुरुङले भने, ‘अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ ।’















प्रतिक्रिया