३१ जेष्ठ २०८३, आइतबार

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन् ।

नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हात्तिखोरमा सञ्चालित २० औं ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुने बताइन् ।

“युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भनिन्, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”

राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङख्या आगामी वर्षदेखि वृद्धि गर्न प्राथमिकता दिइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई कर्तव्य पालना र अनुशासन सिकाउन तालिम फलदायी भएको बताइन् ।

“एनसीसीले सिकाएको अनुशासन, समय पालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”, प्रधानमन्त्री कार्कीले भनिन् ।

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० छात्र/छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएका राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले बताए । चार शिक्षालयमा ७७ जिल्लाका छात्र/छात्रा सहभागी हुने एनसीसी तालिममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५३० छात्र/छात्रा दीक्षित भएका छन् ।

एनसीसी तालिमले युवामा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ । रासस