काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकलसहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
प्रहरी उपरीक्षक सुवेदीले सवारी साधन चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न सबैलाई अनुरोध गरेका छन् ।
सवारी साधन खोजतलास तथा चोरी नियन्त्रण कार्य निरन्तर जारी रहे पनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नुपर्नेमा उनले जोड दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै सवारी साधनको विवरणसहित फोन गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया