२८ जेष्ठ २०८३, बिहिबार

चौदण्डीगढीमा शान्ति सुरक्षा र सेवा सुधारबारे अन्तरक्रिया

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहमा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । यही क्रममा सोमबार चौदण्डीगढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सेवाग्राही, प्रशासन तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा सुधारका उपायबारे सहभागीहरूबीच गहिरो छलफल गरिएको थियो ।

सहभागीहरूले सेवा प्रवाहमा देखिएका ढिलाइ, नागरिकतासम्बन्धी कानुनी प्रक्रिया तथा नागरिकस्तरमा भोगिएका समस्याबारे प्रमुख जिल्ला अधिकारीसमक्ष प्रत्यक्ष जिज्ञासा राखेका थिए । विशेषगरी विभिन्न वडाध्यक्षहरूले नागरिकता वितरणमा देखिएका प्रक्रियागत कठिनाइ र व्यवहारिक चुनौतीबारे जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवाला निकायका प्रतिनिधिहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै शान्ति सुरक्षा कायम राख्न प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताएका छन् । साथै, सेवा प्रवाहलाई सरल, छरितो र पारदर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

यस प्रकारका कार्यक्रमले प्रशासन र स्थानीय सरकारबीच सहकार्य मजबुत बनाउँदै नागरिकका गुनासा प्रत्यक्ष सुन्ने अवसर सिर्जना गरेको सहभागीहरूको भनाइ थियो । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गरेका थिए भने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए । सहभागी हुनेमा सशस्त्र प्रहरी बल नम्बर ५ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक श्याममणि ढकाल, राष्ट्रिय अनुसन्धान उपनिर्देशक तुलसी कट्टेल, पशुपति प्रसाद गणका सेनानी प्रमोद अधिकारी तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन थापा रहेका थिए ।

कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार यसअघि लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकामा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् । चौदण्डीगढीमा सम्पन्न कार्यक्रमपछि मंगलबार बेलका नगरपालिकामा समेत कार्यक्रम आयोजना गरिने जनाइएको छ । आगामी दिनमा जिल्लाका अन्य पालिकामा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।