सल्यान । सल्यानको शारदा नगरपालिका–८ सिमखर्कबाट एमाले कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गरेको भन्ने प्रचार भ्रामक र तथ्यहीन रहेको नेकपा (एमाले)ले जनाएको छ ।
एमाले शारदा नगरपालिका ८ नम्बर वडा कमिटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत फैलाइएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शारदा नगरपालिका–८, सिमखर्क क्षेत्रबाट पार्टीका संगठित सदस्यहरू अन्य कुनै पनि पार्टीमा प्रवेश नगरेको वडा कमिटी अध्यक्ष ममबहादुर बुढाथोकीको बताए ।

कार्यक्रममा प्रवेश भनिएका कुनै पनि व्यक्ति एमालेका संगठित सदस्य नरहेको उनले विज्ञप्तिमार्फत जनाए । सामाजिक सञ्जालमा फैलाइएको विवरण पूर्ण रूपमा असत्य, भ्रामक र तथ्यहीन रहेको भन्दै वडा कमिटीले यस्ता आधारहीन र गलत सूचनाले आम जनसमुदायमा भ्रम सिर्जना गर्ने भन्दै सत्यतथ्य नबुझी कुनै पनि प्रकारका भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
वडा कमिटीले पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति दृढतापूर्वक प्रतिबद्ध रहेको पनि जनाएको छ ।
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको सल्यानमा एमालेको तर्फबाट पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह उम्मेदवार छन् ।








प्रतिक्रिया