काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकावीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका सहिदको बलिदानलाई स्मरण गरेका हुन् ।
उनले ती सहिदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको बताए । प्रचण्डका अनुसार, आज नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको छ, र यो सबै सहिदहरूको अमूल्य बलिदानकै परिणाम हो।
प्रचण्डले आज पनि सहिदहरूको सपना अझै पूर्ण नभएको भन्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको बताए । सहिदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहने प्रचण्डको भनाइ छ ।
प्रचण्डले सबैलाई आत्मसमीक्षा गर्ने, विचलित नहुने र जनताको पक्षमा दृढतापूर्वक उभिएर संघर्षको बाटोमा अघि बढ्ने दिनको रूपमा सहिद दिवसलाई लिन आग्रह गरेका छन् । साथै, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गर्न सबैलाई आह्वान गरेका छन् ।








प्रतिक्रिया