–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधीन मोटरेवल पक्की पुल तोकिएको समयमा सम्पन्न हुन नसकेपछि वैकल्पिक रूपमा निर्माण थालिएको अस्थायी बेलिब्रिज पनि समयमै पूरा हुन सकेको छैन ।
पुस मसान्तदेखि माघको पहिलो हप्ताभित्र बेलिब्रिज निर्माण सम्पन्न गरी आवतजावत खुलाउने योजना भए पनि हालसम्म ग्याबिन निर्माण सम्पन्न गरी स्टिल स्ट्रक्चरको काम करिब ३५ प्रतिशत मात्र सकिएको निर्माण कम्पनीले जनाएको छ । बाँकी काम पूरा गरी पुल सञ्चालनमा आउन अझै १० देखि १२ दिन लाग्ने अनुमान गरिएको छ ।
स्टिल वर्कतर्फका प्राविधिक मनोज चौधरीका अनुसार प्राविधिक जटिलता तथा ग्याबिन भर्ने कार्यमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको हो ।
करिब ५२ मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त बेलिब्रिजको अनुमानित लागत ९४ लाख रुपैयाँ भए पनि सम्झौता अनुसार भ्याटसहित ५७ लाख रुपैयाँमा पुल निर्माण र वर्षामा पुल निकाल्ने गरी गुरुकुल बिल्डर्स एण्ड सप्लायर्स, हेटौंडाले कामको जिम्मा लिएको छ ।
गत २६ मंसिरमा एक महिनाभित्र पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको भए पनि ग्याबिन निर्माणमै ढिलाइ हुँदा तोकिएको समयमा पुल सञ्चालनमा ल्याउन नसकिएको निर्माण कम्पनीका इन्जिनियर खेमराज विश्वकर्माले जानकारी दिए । वर्षायाम सुरु हुनुअघि जेठ १५ भित्र अस्थायी बेलिब्रिज खोलिसक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
पुल समयमै नबन्दा उदयपुर र खोटाङका स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ । पक्की पुल र अस्थायी बेलिब्रिज दुवैमा ढिलाइ हुँदा स्थानीयमा असन्तोष बढ्दै गएको छ ।
यसैबीच, बेलिब्रिज सञ्चालनमा ढिलाइ भएपछि बुधबार चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले निर्माणस्थलको स्थलगत अनुगमन गरेका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, तत्कालीन भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई तथा स्थानीय तहको विशेष पहलमा सुरु भएको पुल निर्माण ढिला भएकोप्रति निर्माण व्यवसायीसँग कारण बुझ्दै कुनै अवरोध भए जानकारी गराउन र काम छिटो सम्पन्न गर्न आग्रह गरेका छन् ।















प्रतिक्रिया