काठमाडौं । नेकपा (एमाले)बाट प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ की उम्मेदवार भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
चौधरीले सुनसरी–३ का गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने बताइन् । उम्मेदवार चौधरीले हरेक दिन जनताको सेवामा समर्पित हुने आफ्नो सङ्कल्प झन् बलियो बन्दै गएको उल्लेख गरिन् । ‘हरेक बिहानको सूर्योदयसँगै सुनसरी–३ का जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने मेरो इच्छाशक्ति थप बलियो बन्दै जान्छ,’ उनले भनिन् ।
चौधरीले आफू सधैं जनताकै साथमा रहने स्पष्ट पारिन् । ‘म सधैं तपाईंहरूकै साथमा छु हरेक समय, हरेक परिस्थितिमा’, उनले भनिन् । उनले निर्वाचन केवल मत माग्ने अभियान मात्र नभई जनताको दुःख–सुखमा सहभागी हुने जिम्मेवारी भएको बताइन् । ‘सुनसरी–३ का गाउँ–टोल, बस्ती–बस्तीमा म सधैं जनताको साथमा छु, जनताकै दुःख–सुखमा छु,’ उनको भनाइ छ ।
उम्मेदवार चौधरीले सुनसरी–३ मा युवालाई आधुनिक प्रविधिसँग जोड्दै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाइन् । ‘आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तनमार्फत युवालाई घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गरिनेछ,’ उनले भनिन् ।
उनले सुनसरी–३ को विकास र समृद्धिका लागि निरन्तर लागिरहने उल्लेख गर्दै जनताको आशीर्वादले आफूलाई थप प्रेरणा दिएको बताइन् । ‘सुनसरी–३ का तपाईं बाबा–आमाको आशीर्वाद शिरमा लिएर अघि बढेकी छु,’ उनले भनिन् ।
चौधरीले विकासको यात्रामा इमानदारी र निरन्तरतामा जोड दिइन् । ‘सुनसरी–३ को विकास र समृद्धिका लागि इमानदारी, प्रतिबद्धता र निरन्तरताका साथ म लागिरहन्छु’, उनले भनिन् ।
युवाको भावना बुझ्दै उनले भ्रष्टाचारविरुद्ध कठोर अडान लिएको बताइन् । ‘युवा चाहन्छन्– भ्रष्टाचार नहोस्, युवा चाहन्छन्– विकास होस्,’ उनले भनिन् । उनले आफ्नो स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्दै भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ ।’
उम्मेदवार चौधरीले जनताको सेवामा सधैं समर्पित रहने र सुनसरी–३ लाई विकास र समृद्धितर्फ डोर्याउने विश्वास दिलाएकी छन् । ‘सधैं लागिरहन्छु,’ उनले दोहोर्याउँदै भनिन् ।








प्रतिक्रिया