मकवानपुर । नेकपा (एमाले)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । राना इमान्दार, कर्मठ सादगी नेताका रुपमा मकवानपुरमा परिचित छन् ।
२०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापति निर्वाचित हुँदा रानाले गरेका काम जनता माझ स्थापित छन् । २०६४ को निर्वाचनमा संसदीय चुनाव लडेका राना पराजित भएका थिए । त्यसयता उनले २ पटक सिफारिसमा परेर पनि नेतृत्वका लागि अवसर पाएनन् । नेकपा (माओवादी केन्द्र)सँग एकता हुँदा उनले चुनाव लड्ने अवसरबाट बन्चित हुनु पर्यो ।
अघिल्लो पटकको निर्वाचनमा एमालेको सूर्य चिन्हबाट कमल थापा निर्वाचनमा उठेपछि उनले अन्तिम समयमा संसदीय चुनाव लड्ने अवसर गुमाए । पटकपटक अवसर खोसिदा समेत पार्टीको जिम्मेवारीमा निरन्तर रहेका रानाको उम्मेदवारीले एमालेका कार्यकर्ता उत्साहित छन् ।
रानाको सादगी पनलाई यस क्षेत्रका जनताले सकारात्मक रुपमा लिएका छन् । २०३६ सालको आन्दोलनबाट प्रभावित भएर २०३७ सालमा अनेरास्ववीयु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट उनको राजनितिक यात्रा सुरु भएको हो ।
२०३८ मा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै राना जिल्ला कमिटी अध्यक्ष समेत बने । २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका राना पार्टीको शाखा कमिटी हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भए । २०५१ मा एमाले मकवानपुर सचिव भए । ३ कार्यकाल एमाले मकवानपुरको नेतृत्व गरेको अनुभव रानासँग छ ।
बागमती प्रदेश कमिटी सदस्य हुँदै ४ कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका छन् एमालेको ११ औं महाधिवेशनबाट राना केन्द्रीय सदस्य निर्वाचित भए । २०४९ सालमा हेटौंडा नगरपालिका ११ नं वडा अध्यक्ष निर्वाचित भए । २०५४ जिविस सभापति हुँदा चुरे संरक्षण, सडक सञ्जाल निर्माणसहित मकवानपुरको एकीकृत विकासको अवधारणा रानाले नै अघि सारेका हुन् ।
रानाले चीन, भारत, बंगलादेश लगायतका मुलुकहरु पुगेर विकासलाई नजिकबाट नियालेका छन् ।








प्रतिक्रिया