हेटौंडा । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ । २०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ ।
७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजना सुरु हुँदाको पुस्ता अवकाश उमेरमा पुग्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठेको छ ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको बताए । उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ ।
हाल सडकको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन बाँकी छ । ती क्षेत्रमा एक लेन मात्र सडक रहेको र चट्टान काटेर दुई लेन विस्तार गर्नुपर्ने भएकाले काम जटिल बनेको आयोजनाले जनाएको छ । साथै, सडक सीमा निर्धारण नहुँदा घरटहरा, रुख, विद्युत् खम्बा, खानेपानी र ढलका संरचना सडक क्षेत्रमै परेका छन् । ढुङ्गा–बालुवा उत्खननसम्बन्धी कानुनी जटिलताले पनि काम प्रभावित भएको छ ।
आयोजनाअन्तर्गत बागमती नदीमा निर्माणाधीन दुई लेनको पुल पनि समयमै सम्पन्न नहुने देखिएको छ । ९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ । हाल पाइलिङ र जग हाल्ने काम भइरहेको भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तभित्र सम्पन्न हुन नसक्ने आयोजनाले स्पष्ट पारेको छ ।
कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौंतर्फ ललितपुरको टीकाभैरव र हेटौंडातर्फ बुद्धचोक निर्धारण गरिएको छ । यसमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर सडक खण्ड पर्छ। चालु आर्थिक वर्षदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरिएको छ ।
चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ । सुरुमा छ अर्ब रुपैयाँ अनुमान गरिएको लागत संशोधन हुँदै हाल आठ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको लागत व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ ।
यद्यपि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराई–काठमाडौं आवागमनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । हाल प्रयोग हुँदै आएको हेटौंडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा मार्ग (२२२ किलोमिटर)को सट्टा ७९ किलोमिटरमै हेटौंडाबाट काठमाडौं पुग्न सकिनेछ । यसले दूरी १३२ किलोमिटर घटाउने, समय र इन्धन बचत गर्ने तथा यात्राको जोखिम कम गर्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया