१० कार्तिक २०८३, मंगलबार

मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा लिइएका सेढाईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैबीच, प्रवक्ता सुवेदीले सवारी धनीलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन् । साथै, मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न समेत उनले आग्रह गरे ।

ट्राफिक प्रहरीले हराएका सवारी साधनको खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर जारी राखे पनि सवारी धनी स्वयं सजग हुनुपर्नेमा जोड दिएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गरी सवारी साधनको विवरण दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।