२२ जेष्ठ २०८३, शुक्रबार

निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खट्न महानिरीक्षक अर्यालको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरुलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

उनले कमाण्डको जिम्मेवारीमा खटिजान लागेका सशस्त्र प्रहरी अधिकृतहरुलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारबाही गरिने बताउँदै निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरुलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गरी परिचालित हुन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले संगठनले लिएको सोच र नीति अनुसार कार्यक्षेत्रमा खटिदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालिन हुनुपर्ने बताउँदै राजश्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शीता कायम गरी भ्रष्टचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेशनल काम कारबाही सञ्चालन गर्न समेत निर्देशन दिए ।