२ असार २०८३, मंगलबार

मकवानपुरमा एमालेको २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । नेकपा (एमाले) मकवानपुरले मकवानपुर क्षेत्र नम्बर १ र २ नम्बरमा आफ्ना उम्मेदवार जिताउन २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, पालिका तथा ईलाका कमिटीका सदस्यहरू, पालिका लेखा कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधि सबै, जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिकाका पदाधिकारी, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू जिल्ला निर्वाचन परिचालन कमिटीमा रहेका छन् ।

निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहेका छन् । साथै, ७७ सदस्यीय निर्वाचन परिचालन कमिटीको सचिवालय समिति गठन गरिएको जिल्ला उपाध्यक्ष लामाले जानकारी दिए ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति, प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सहसंयोक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ र प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक भारती पाठक, सहसंयोजक बलराम बल र राजाराम स्याङ्तान र सचिव मेम्मर लोलाई जिम्मेवारी दिइएको छ ।

निर्वाचन परिचालनको प्रचार समिति संयोजकमा नवीन सिग्देल, अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन घोषणा पत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक संयोजन हिदम लामा, जनसांस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भुगोल बाहिर रहेका मतदाता समन्वय समिति फूर्वादोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल, उम्मेदवार फोकल पर्सन १ नं. क्षेत्र दिलु घर्ती, २ नं. क्षेत्र आशिष अस्लामी रहेको जानकारी गराइएको छ ।

बैठकले १० वटा पालिका, २ इलाका कमिटी र १ सय २ वटा वडामा समेत निर्वाचन परिचालन समितिको संयोजक, सहयोजक र सचिव तोकेको छ भने माघ महिनाभित्र सबै जनसंगठनको जिल्ला र पालिकास्तरमा निर्वाचन सहयोग समिति बनाउने र १० पालिका, २ ईलाकामा र १ सय २ वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी कार्य अगाडि बढाउने निर्णय गरेको उपाध्यक्ष लामाले जानकारी दिए ।

जिल्ला उपाध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेतको प्रमुख आथित्यता, केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा लगायत प्रदेश कमिटीका सदस्यहरूको आथित्यता रहेको थियो ।