–अन्जनी कुमार अधिकारी
उदयपुर । नेकपा (एमाले)मा लामो समय राजनीति गरेका कोशी प्रदेश सभाका पूर्वसांसद बिमल कार्कीले वर्तमान राजनीतिक परिस्थितिमा पुरानै राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै पुनः नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने इच्छा व्यक्त गरेका छन् ।
केही महिना अघि पार्टी नेतृत्वसँगको असन्तुष्टिलाई लिएर सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति दिएका कार्की एमाले कोशी प्रदेश कमिटीको कारबाहीमा परेका थिए ।
हाल भने उनले देशको राजनीतिक अवस्थालाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै शनिबार सामाजिक सञ्जालमार्फत नेकपा (एमाले)का उम्मेदवारहरूको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातामा अपिल गरेका हुन् ।
कार्कीले हाल आफू कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा आवद्ध नभए पनि स्वतन्त्र चिन्तकको हैसियतले मुलुकको राजनीतिप्रति निरन्तर चासो र चिन्तन गरिरहेको बताएका छन् । उनका अनुसार, प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई “नयाँ र वैकल्पिक राजनीतिक शक्ति” दाबी गर्ने केही समूहहरूले देखाइरहेका गतिविधि राजनीतिक परिपक्वताभन्दा बढी प्रहसन र नौटङ्कीमा सीमित देखिएका छन् । यस्ता गतिविधिले देशलाई अझै अनिश्चितताको दिशामा धकेल्ने खतरा रहेकाले दुर्घटनाको डिलमा पुगेको देशलाई जोगाउन अहिले पुरानै राजनीतिक शक्तिको आवश्यकता रहेको निष्कर्षमा पुगेको उनले बताएका छन् ।
कार्कीले स्पष्ट रूपमा भनेका छन्, “देशलाई अहिलेको संकटबाट उकास्न सक्षम शक्ति नेकपा (एमाले) नै देखिन्छ ।” उनका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीमा चट्टानी दृढता र अडान भएको नेतृत्व क्षमता छ । यद्यपि, उनले ओलीप्रति अन्ध समर्थन नगरेको स्पष्ट पार्दै आफू विगतमा पनि आलोचक रहेको र अहिले पनि आलोचक नै रहेको बताएका छन् ।
“जबसम्म नेतृत्वमा सुधार हुँदैन, तबसम्म मेरो दृष्टिकोण परिवर्तन हुँदैन,” उनले उल्लेख गरेका छन् । तर वर्तमान देशको परिस्थितिमा केपी ओलीको नेतृत्व नै आजको आवश्यकता रहेको धारणा समेत उनले व्यक्त गरेका छन् ।
एमालेका पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका कार्कीले पार्टीभित्र र बाहिर स्वच्छ र स्वस्थ लोकतन्त्र हुनुपर्छ भन्ने मान्यता आफू सधैं बोकेर हिँड्ने व्यक्ति भएको पनि बताएका छन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कार्कीले प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये एमालेका उम्मेदवारहरू नै अरूभन्दा माझिएका, खारिएका, अनुभवी र योग्य देखिएको धारणा राखेका छन् । यही कारणले अहिलेको राष्ट्रिय संकटबाट देशलाई बाहिर निकाल्ने क्षमता सूर्यध्वजावाहक उम्मेदवारहरूसँग रहेको उनको ठम्याइ छ ।
यसै सन्दर्भमा उनले उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार दुर्गाकुमार थापा र क्षेत्र नं. २ का उम्मेदवार अम्बरबहादुर रायमाझी लगायत देशभरका एमालेका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण मतदातामा अपिल र अनुरोध गरेका छन् ।
उनले भनेका छन्, “भोलिका दिनमा पनि यो देशलाई अहिले अधकल्चो अवस्थामा रहेको संविधानमा प्राण भर्दै रक्षा र कार्यान्वयन गर्न सक्षम राजनीतिक शक्ति आवश्यक छ, र त्यो जिम्मेवारी बहन गर्न सक्ने शक्ति अहिले नेकपा (एमाले) नै हो ।”















प्रतिक्रिया