१७ असार २०८३, बुधबार

कसैको शक्ति र गठजोडले एमालेलाई पराजित गर्न सक्दैन : माधव ढुङ्गेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव ढुङ्गेलले नेकपा (एमाले) सबै राजनीतिक दल एकातिर लाग्दा पनि चुनाव जित्दै आएको पार्टी भएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा पनि एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।

शनिबार एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित चुनाव केन्द्रित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संकटका बेला जनताले साथ दिने पार्टी एमाले भएको दाबी गरे । टोल–टोलसम्म संगठन फैलिएको र बलियो सांगठनिक संरचना भएको पार्टी भएकाले कसैको शक्ति र गठजोडले एमालेलाई पराजित गर्न नसक्ने उनको भनाइ छ ।

उनले कम्युनिष्ट आन्दोलनको झण्डा, सूर्य चिन्ह र विशाल संगठनात्मक संरचनाका कारण एमाले कसैको चाहनाअनुसार कमजोर नबन्ने स्पष्ट पारे । “सबै पार्टी एकातिर लाग्दा पनि एमालेले चुनाव जितेको इतिहास छ, यस पटक पनि हामी जित्छौँ,” उनले भने ।

ढुङ्गेलले भदौ २३ र २४ मा घटेका घटनालाई कोठाभित्र बसेर युवा विद्यार्थीलाई प्रयोग गरेर गराइएको घटना भएको दाबी गर्दै त्यसको जिम्मेवारी घटनाका योजनाकारले लिनुपर्ने बताए । ती घटनामा एमाले र अध्यक्ष केपी शर्मा ओलीको कुनै संलग्नता नरहेको उनले स्पष्ट पारे । असत्य कुरालाई बारम्बार दोहोर्‍याएर अध्यक्ष ओलीलाई दोषी ठहर गर्न खोजिएको उनले उल्लेख गरे ।

उनले नेपाल–भारत सीमा विवादको अन्तिम टुंगो लगाउने अठोट, चीनसँग पारवहन सन्धि तथा विकाससम्बन्धी सम्झौतापछि अध्यक्ष ओली र एमालेमाथि आक्रमण बढेको बताए । राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने उनको भनाइ छ ।

लघुताभास बोकेर राजनीति र संघर्ष जित्न नसकिने उल्लेख गर्दै उनले एमालेका नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । “यदि केपी ओलीले गल्ती गर्नुभएको भए यस्तो अवस्थामा टिक्न सक्नु हुन्थ्यो र ? गल्ती नगरेकै कारण उहाँ र एमाले टिकेको हो,” उनले भने ।

ढुङ्गेलले रहर र क्षणिक भीडले पार्टी र देश चल्न नसक्ने बताउँदै असन्तुष्ट व्यक्तिहरूको जमघटले समाजलाई अराजकता र गलत दिशातर्फ लैजाने चेतावनी दिए । देशले अहिले राजनीतिक मात्र होइन, आर्थिक रूपान्तरण खोजेको उल्लेख गर्दै अब त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

रामेछापबाट निर्वाचित भएपछि जिल्लाको विकासमा केन्द्रित हुने बताउँदै उनले रामेछापमा कृषिमा आधारित उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा ठूला सम्भावना रहेको उल्लेख गरे । कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलालको जन्मथलो रामेछापमै रहेकाले त्यसको ऐतिहासिक महत्वलाई पर्यटन विकाससँग जोड्न सकिने उनले बताए ।

ढुङ्गेलले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएको उल्लेख गर्दै माओवादीलाई समेत एमालेमा आउन आह्वान गरे । साथै, सचेत नागरिक बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

नियमित अधिवेशन, नयाँ विचार र दृष्टिकोण भएका पार्टी कहिल्यै पुराना नहुने उल्लेख गर्दै उनले ‘नो नट अगेन’ भन्नेहरू अहिले तेस्रो पटक चुनाव लडिरहेको प्रसंग उठाए । “त्यो नारा अहिले कहाँ गयो ?” उनले प्रश्न गरे ।

उनले आफू संसदमा उभिँदा मतदाताको शिर झुक्न नदिने र देश–दुनियाँका अगाडि गर्वका साथ उभिन सक्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।