ओखलढुङ्गा । नेकपा (एमाले) ओखलढुङ्गाले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य तथा ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवारले एमालेको विजयी यात्रालाई रोक्न भित्र र बाहिरबाट विभिन्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
सुनुवारले यस्तो अवस्थामा पार्टी कार्यकर्ता र समर्थकहरू अझ एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यस निर्वाचनमा एमालेले पहिलोपटक सशक्त महिला तथा युवा उम्मेदवारका रूपमा अस्मिता थापालाई अघि सारेको उल्लेख गर्दै सुनुवारले थापा ओखलढुङ्गा जिल्लाका युवापुस्तामाझ अत्यन्त लोकप्रिय उम्मेदवार भएको बताए ।
सुनुवारले पार्टीले विगतमा महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याएका केही व्यक्तिबाट देखिएका गतिविधि र अभिव्यक्तिले आफूहरूलाई आश्चर्यमा पारेको पनि उल्लेख गरे । पार्टीभित्र सधैं एउटै व्यक्तिले अवसर पाइरहने अवस्था सम्भव नहुने बताउँदै उनले संगठनात्मक अनुशासन र सामूहिक जिम्मेवारीको महत्वमा जोड दिए ।
एमालेले लिएको राष्ट्रियताप्रतिको चट्टानी अडान, लोककल्याणकारी राज्यको परिकल्पना, सन्तुलित विकास र सुशासनको एजेन्डा तथा ओखलढुङ्गाको विकासमा पार्टीले गरेको योगदानलाई स्थापित गर्दै कार्यकर्ता र उम्मेदवारहरू गाउँ–गाउँ, टोल–टोलमा पुगिरहेको उनको भनाइ छ ।
नेता सुनुवारले निस्वार्थ भावले चुनावी अभियानमा खटिरहेका सम्पूर्ण कार्यकर्ताप्रति उच्च सम्मान व्यक्त गर्दै कुनै पनि भ्रम, हल्ला वा षड्यन्त्रबाट विचलित नहुन आग्रह गरे । साथै, उनले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आम ओखलढुङ्गावासी मतदातालाई सहभागी भई इतिहास रच्न आह्वान गरे ।
‘अनेकौं षड्यन्त्रका बीच पनि नेकपा (एमाले)को विजय यात्रालाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘हाम्रो यात्रा जारी छ ।’ एमाले ओखलढुङ्गाले चुनावी अभियानलाई अझ प्रभावकारी बनाउँदै घरदैलो र जनसम्पर्कलाई तीव्र पारेको जनाएको छ ।















प्रतिक्रिया